
काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।

आन्तरिक राजश्व विभागले बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताको घोषणा गरेको हो। विभागका अनुसार १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्ने विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। यसबाहेक अन्य १५ जना उपभोक्ताले जनही एक–एक लाख रुपैयाँको पुरस्कार जितेका छन्।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन कार्यक्रम सुरु गरेको हो। उपभोक्तामा बिल लिने बानीको विकास गर्ने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले योजना सञ्चालन गरिएको विभागले जनाएको छ।
योजनाअनुसार प्रत्येक १५ दिनमा १५ जनालाई जनही एक लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिनेछ।
यसका लागि prize.ird.gov.np वेबसाइट सञ्चालनमा ल्याइएको छ। नगद भुक्तानी गरी नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली बिल लिएका उपभोक्ताले उक्त वेबसाइटमा बिल अपलोड गरेर योजनामा सहभागी हुन सक्नेछन्।
विभागका अनुसार क्यूआरमार्फत गरिएको १०० रुपैयाँभन्दा बढीको कारोबार भने स्वतः प्रणालीमा समावेश हुने भएकाले छुट्टै बिल इन्ट्री गर्नुपर्ने छैन। त्यस्ता उपभोक्ताले कारोबारको विवरण सुरक्षित राखे पुग्नेछ, सोही ट्रान्स्याक्सन नम्बरका आधारमा उपहारका लागि योग्य मानिनेछ।

