
२५ कात्तिक, धनगढी । डोटी भूकम्पको तेस्रो दिन शुक्रबार पनि लगातार परकम्प गइरहेका छन ।
डोटी, बाजुरा, बझाङ केन्द्रबिन्दु भएर परकम्प गइरहेका हुन । आज दिउँसो साढे ३ बजेसम्म सुदूरपश्चिमका विभिन्न जिल्ला केन्द्रबिन्दु भएर चार सय दुई परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
२२ कात्तिक राति दुईवटा (राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७, राति नै ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्निच्युड) र बुधबार बिहान दुई बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
बिहानको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको थियो । त्यसयता हरेक दिन परकम्प गइरहेको बताइएको छ ।
बिहीबार बिहान ५ बजेर १३ मिनेटमा बाजुरामा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको थियो । त्यसबाहेकका सबै परकम्प १ दशमलव ७ देखि ३ दशमलव ९ म्याग्निच्युडका छन ।

