
धनगढी । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन भएकी छन्। उनी एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखामा फिल्ड अफिसरका रूपमा कार्यरत थिइन्।
परिवारका अनुसार बाढी आएको दिन बिहान ११ः२९ बजेसम्म उनको मोबाइलको लोकेसन नुवाकोटको विदुर नगरपालिका–जितेटार क्षेत्रमा देखिएको थियो। त्यसपछि मोबाइल बन्द भएको र अहिलेसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ।
बाढीका कारण पुष्पा कार्यरत शाखा कार्यालय र उनी बस्दै आएको घरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। बाढी आउन लागेको जानकारी पाएपछि कार्यालय सहयोगी सुष्मा अधिकारी बच्चासहित सुरक्षित स्थानमा पुगेकी थिइन्। तर, पुष्पाले भने ‘खाना खाएर निस्किउँला’ भन्दै कार्यालयमै बसेको परिवारले जानकारी पाएको छ।
शाखा प्रमुख शारदा पाण्डेको अवस्थासमेत अहिलेसम्म पत्ता लाग्न सकेको छैन। परिवारका अनुसार पुष्पा करिब एक वर्षदेखि लघुवित्तमा कार्यरत थिइन् र जागिरसँगै ब्याचलर तहको अध्ययन गरिरहेकी थिइन्। बाढी आउनुअघि अघिल्लो साँझ उनले परिवारका सदस्यसँग फोनमा कुराकानी गरेकी थिइन्।
पुष्पाको खोजीका लागि परिवारले सुरक्षाकर्मी, सम्बन्धित निकाय र लघुवित्त संस्थासँग आग्रह गरेको छ। उनका दाइ रोशन शाहीलाई खोजीका लागि धनगढीबाट काठमाडौँ पठाइएको छ। काठमाडौँ पुगेपछि नुवाकोटतर्फ गएर खोजीमा सहभागी हुने परिवारले जनाएको छ।
विभिन्न स्थानबाट शव ल्याइरहेको खबरपछि परिवारमा थप चिन्ता बढेको छ। पहिचान हुन बाँकी शवमा समेत पुष्पाको खोजी गरिदिन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको छ।

