
काठमाडौं । आज देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ। मधेश तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
देशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।
राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू(भागका थोरै तथा पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्नेछ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

