दार्चुलामा पहिरोको जोखिम कायमै, १० परिवार सुरक्षित स्थानमा सारिए

cp new add
Nisharg hospital

दार्चुला । अपिहिमाल गाउँपालिका–१ भण्डारस्थित चौलानी नदीमा पहिरो खस्दा केही घर तथा खेत बगाएको छ। पहिरोका कारण नदी केही समय थुनिएपछि जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार थुनिएको नदी अहिले पुनः बग्न थालेको छ। यद्यपि, पहिरो खस्ने क्रम नरोकिएकाले नदी आसपासको क्षेत्रमा जोखिम कायमै रहेको छ।

“केही घरखेत बगाएको छ। पहिरो परेको तलको स्थानका १० वटा परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नदी तटीय क्षेत्रमा जोखिममा रहेका सबै नागरिकलाई जानकारी गराइसकेका छौँ,” अध्यक्ष बोहराले भने।

उनका अनुसार हालसम्म घटनामा मानवीय क्षति भएको छैन, तर माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले थप जोखिम हुन सक्ने भन्दै गाउँपालिका र स्थानीय प्रशासन सतर्क अवस्थामा छन्। “अहिले थुनिएको नदी बग्न थालेको छ, तर पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै छ हामी सतर्क छौँ,” उनले भने।

नदी पुनः थुनिन सक्ने, अचानक पानीको बहाव बढ्न सक्ने तथा थप पहिरो खस्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। गाउँपालिकाले सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...