
गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोरको सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
बाधुमा खसेको पहिरो पिएस कन्स्ट्रक्सनको जेसिबी प्रयोग गरी हटाएर सडक सञ्चालनमा ल्याइएको छ । तर, जगन्नाथ गाउँपालिका–५ को भुकाह खोलामा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी निरीक्षक भाटले बताए ।
सडक अवरोध हटाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन् । हाल जगन्नाथ गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

