
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा दोधाराचाँदनी नगरपालिका–१० की १५ वर्षीया सृष्टि सुनार रहेकी छन्। प्रारम्भिक विवरणअनुसार सृष्टि महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा नदीमा बगेकी हुन्। घटना लगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले नदीमा बेपत्ता सुनारको खोजी भइरहेको जानकारी दिए । उनकाअनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा महाकाली नदीमा बेपत्ता किशोरीको खोजी गरिरहेको छ ।
महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

