भोटेकोशी बाढीका कारण स्थगित ‘सुदूरपश्चिम गाइजात्रा–२’ भदौ ३० गते हुने

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र हास्यव्यङ्ग्य परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ भदौ ३० गते हुने भएको छ।

यसअघि भदौ १७ गते आयोजना गर्ने तयारी गरिएको कार्यक्रम रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट उत्पन्न दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो। स्थगित कार्यक्रम अब भदौ ३० गते आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

करिब १५ लाख रुपैयाँको लगानीमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, राष्ट्रिय कलाकार किरण केसी र जोगेन्द्र पानवालासँगै सुदूरपश्चिमका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

गाईजात्रालाई केवल मनोरञ्जनको पर्वका रूपमा नभई समाजका विकृति, विसंगति र समसामयिक विषयमाथि व्यङ्ग्य गर्दै सकारात्मक बहस सिर्जना गर्ने अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

कार्यक्रममा व्यङ्ग्य नाटक, कविता, गीत–संगीत,सांस्कृतिक प्रस्तुतिमार्फत सुदूरपश्चिमको कला, भाषा, संस्कृति र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ। लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता विषयलाई समेत हास्यव्यङ्ग्यका माध्यमबाट उठाइनेछ।

मुख्य संयोजक सरस्वती खड्का भट्टले गाईजात्राको मौलिकता र सामाजिक पक्षलाई उजागर गर्दै यस परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। उनका अनुसार कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय कलाकारको प्रोत्साहन र मौलिक संस्कृति संरक्षणको अभियानसमेत हो।

आर्थिक संयोजक शुभेष पाठकले अघिल्लो संस्करणभन्दा यसपटक कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी भइरहेको बताए। कलाकारको प्रस्तुति, मञ्च व्यवस्थापन, यातायात तथा दर्शकको सहभागितालाई विशेष प्राथमिकता दिइएको उनको भनाइ छ।

कार्यक्रमको प्रमुख प्रायोजक माया मेट्रो अस्पताल र सहप्रायोजक चैतन्य पाठशाला रहेका छन्। सुदूरपश्चिमका विभिन्न सरकारी तथा गैरसरकारी निकाय, पर्यटन क्षेत्र तथा निजी संस्थाहरूले समेत सहयोग गरिरहेका आयोजकले जनाएको छ।

माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले कार्यक्रम मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वसँग जोडिएको बताए। बाढीपीडितका लागि समेत योगदान गर्ने उद्देश्य रहेकाले कार्यक्रमले सकारात्मक सन्देश दिने उनको भनाइ छ।

आयोजकका अनुसार ८८‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’८८ले एकातिर हराउँदै गएको मौलिक कला र संस्कृतिको संरक्षणमा जोड दिनेछ भने अर्कोतिर हास्यव्यङ्ग्यको माध्यमबाट समाजका विकृति–विसंगतिमाथि प्रश्न उठाउँदै मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउनेछ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...