
धनगढी । कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ९७ हजार रुपैयाँ बराबरका सामानसहित तीन जना महिला पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–२ फनपार्क नजिकबाट शनिबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने ३७ वर्षीया लक्ष्मी स्याडा, ३५ वर्षीया धनीदेवी सार्की र गोदावरी नगरपालिका–२ बस्ने २७ वर्षीया यसोदा भट्ट रहेका छन् ।
उनीहरूको साथबाट बिडी, सुर्ती, सुटपिस, डाल्डा, चना, केक पाउडर, खुर्सानी, प्लास्टिक झिल्ली लगायतका १ लाख ९७ हजार ३५० रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ वनदेवी जंगल नजिकबाट शनिबार साँझ ४८ हजार ३५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा बिडी, सुर्ती, प्लास्टिक झिल्ली लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो ।
बरामद सामान सम्बन्धमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

