
बुटवल । रुपन्देहीको भैरहवास्थित सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिएको प्रकरणमा प्रहरीले दुई चालकलाई पक्राउ गरी चोरी मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार पम्प सञ्चालक रमेश सराफ र अर्का एक ट्याङ्कर चालक भने फरार छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले भदौ ३० गते पम्पमा छापा मार्दा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिरहेको अवस्थामा दुई वटा ट्याङ्कर फेला पारेको थियो । तेल खन्याएर पम्पबाट बाहिरिसकेको अर्को ट्याङ्करसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा ट्याङ्कर चालक मसुद अजहर हुसेन र दुर्गेश चाई छन् । उनीहरूविरुद्ध चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी जनकबहादुर शाहीले बताए । प्रहरीले लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट करिब ३० लिटर डिजेल निकालेर ड्रममा राखिएको अवस्थामा फेला पारेको थियो ।
लु १ ख ६६१९ नम्बरको अर्को ट्याङ्कर पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । एसपी शाहीका अनुसार पक्राउ परेका चालकहरूले विगत केही महिनादेखि ट्याङ्करबाट तेल निकालेर बिक्री गर्दै आएको प्रारम्भिक बयान दिएका छन् ।
यसैबीच, नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले सर्राफ आयल पम्पलाई ६ महिनासम्म पेट्रोलियम पदार्थको आपूर्ति रोक्ने निर्णय गरेको छ । निगमले पम्पलाई १ लाख रुपैयाँ जरिबानासमेत गरेको छ ।
निगमका निमित्त प्रमुख सुरेन्द्र विष्टले सञ्चालक फरार भए पनि जरिबाना तिर्नुपर्ने बताए ।

