कैलालीको चौकीडाँडामा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

cp new add
Nisharg hospital

धनगढी, असोज ६ । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

मंगलबार दिउँसो  पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको भ्यानले ओभरटेक गर्ने क्रममा कञ्चनपुरबाट अत्तरिया आउँदै गरेको से.प.प्र.०१–०१३ प ८१९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

भ्यानको ठक्करपछि अनियन्त्रित भएको उक्त मोटरसाइकल अत्तरियाबाट कञ्चनपुरतर्फ जाँदै गरेको से.६ प ६०८१ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा से.प.प्र.०१–०१३ प ८१९८ नम्बरको मोटरसाइकल चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का २० वर्षीय लोकेन्द्र साउँद गम्भीर घाइते भएका छन्। उनको दाहिने खुट्टा, दाहिने हात र छातीमा चोट लागेको छ।

सोही मोटरसाइकलमा पछाडि सवार बेलडाँडी–१ का करिब २३ वर्षीय विनोद बडुवालको दुवै खुट्टा र हातमा चोट लागेको छ। यस्तै, अर्को मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका–५ का करिब २५ वर्षीय होमिन चौधरीको दाहिने खुट्टा, मुख र छातीमा चोट लागेको प्रहरीले जनाएको छ।

तीनै जनालाई उपचारका लागि अत्तरिया अस्पताल पठाइएको छ। दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनापछि भ्यानसहित चालक फरार भएका छन्।

प्रहरीका अनुसार भ्यानको अगाडिको अक्षर नखुलेको १४४३ नम्बर देखिएको छ। फरार भ्यान र चालकको खोजीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी सहायक निरीक्षक मदन जेठाराको कमाण्डमा पाँच जनाको टोली परिचालन गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...