
धनगढी । बाजुरामा एक शिक्षक नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतका रूपमा खटिएको पाइएको छ ।
बडिमालिका नगरपालिका–१ स्थित जैशीँडाँडा आधारभूत विद्यालयमा कार्यरत शिक्षक मीनबहादुर दानीलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनका लागि निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको खुलेको हो ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले २०८१ असोज ४ गते जारी गरेको पत्रमा दानीलाई सम्बन्धित वडा, गाउँपालिका, नगरपालिका वा प्रदेश सभा क्षेत्रको निर्वाचन सम्पन्न गराउने निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको उल्लेख छ । पत्रमा तोकिएको स्थानमा गई निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्नसमेत निर्देशन दिइएको थियो।

केन्द्रीय निर्वाचन समितिको कार्यालय, बाजुराबाट जारी पत्रमा निर्वाचन सम्पन्न भएपछि उम्मेदवारी दर्ता शुल्कबापत उठेको रकममध्ये आधासम्म खर्च गरी बाँकी रकम जिल्ला निर्वाचन समितिमा बुझाउन र आर्थिक विवरणसहित अधिवेशनको प्रतिवेदन पेस गर्न भनिएको थियो। सोही अनुसार उनी निर्वाचन खटिए। उनले काम पनि गरे। निर्वाचनमा प्रमाणपत्र वितरण गरे।
दानीलाई नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको पुष्टि गर्ने पत्रमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका निर्वाचन अधिकृत बाजुरा चन्द्रप्रसाद लुइँटेलको हस्ताक्षर रहेको छ ।

