
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने अन्तिम तयारी गरेको छ । प्रदेश सरकारले बुुधबार प्रदेश सभामा बजेट पेश गर्नेगरि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवंम् उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले बुधबारसम्म प्रदेश सभामा प्रस्तुत गर्नेगरि बजेट निर्माण अन्तिम चरणमा पुगेका जानकारी दिएका छन् । उनकाअनुसार आर्थिक मामिला मन्त्रालयले दिएको सिलिङअनुसार यसअघिका वार्षिक कार्यक्रम संशोधनसहित विषयगत मन्त्रालयले बजेट प्रणाली योजना इन्ट्री गरेका छन् ।
केही मन्त्रालयले भने योजना इन्ट्री गर्न बाँकी रहेको छ । सरकारले बुधबार प्रदेश सभामा बजेट पेश गर्ने तयारी गरेपछि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोेलाइएको छ । बैठक अहिले बिहान ११ बजे सभामुुख भीमबहादुर भण्डारीको कार्यकक्षमा बस्दैछ । कार्यव्यवस्था परामर्श समितिले प्रदेश सभाको बैठक बोलाउनेबारे निर्णय लिनेछ ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि राजनीतिक समीकरण नै फेरिएर एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेका थिए ।
बजेट पारित हुन नसकेपछि प्रदेशमा राजश्व संकलनको काम नरोकिएपनि खर्च गर्न नपाइएपछि आंशिक बजेट शून्यताको अवस्था छ । मुख्यमन्त्री भट्टले भदौ मसान्तभित्र बजेट ल्याउने बाचा गर्दै आएका थिए तर सरकाले भने असोजको तेस्रो साता बजेट ल्याउने तयारी गरेको हो ।
भदौ मसान्तको भाका पूरा गर्न असफल भएपछि भट्टले बोली फेरेर छिट्टै बजेट ल्याउने बताउदै आएका थिए ।

