
धनगढी । सुदूरपश्चिमको बझाङमा जन्मिएका प्रतिष्ठित प्रविधि कार्यकारी डा. धर्मराज उपाध्याय अमेरिकामा सन् २०२६ का लागि ‘माक्र्विस हुज हू’को सूचीमा परेका छन् ।
डेटा रणनीतिकार तथा एआई/एमएल नेतृत्वकर्ता समेत रहेका उपाध्याय कृत्रिम बुद्धिमत्ता (एआई), स्वास्थ्य सेवा नवप्रवर्तन तथा उद्यमस्तरीय डिजिटल रूपान्तरणमा पु¥याएको योगदानका आधारमा ‘माक्र्विस हुज हू’को सूचीमा सूचीकृत भएका हुन् ।
उपाध्याय यो मान्यता प्राप्त गर्ने अमेरिकामा बस्ने नेपाली मूलका पहिलो व्यक्ति हुन् । डा. उपाध्यायले अमेरिकी संघीय निकाय, निजी क्षेत्र तथा गैरनाफामूलक संस्थामा प्रविधि र डेटा रणनीतिसम्बन्धी नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
उनले अमेरिकी खाद्य तथा औषधि प्रशासन अन्तर्गतको सीबीइआर युनाइटेडहेल्थ ग्रुप/ओप्टम, ह्याकेन्स्याक मेरिडियन हेल्थ, सिटी अफ होप नेसनल मेडिकल सेन्टर र ईआरसी प्याथलाइटलगायत संस्थामा काम गरेका छन् । उनले गर्ने कामका प्रमुख क्षेत्र एआई गभर्नेन्स, उद्यम डेटा इन्जिनियरिङ, क्लाउड आधुनिकीकरण र क्लिनिकल इन्फम्र्याटिक्स लगायत विषय पर्छन् । उनले यी क्षेत्रमा बहु–मिलियन डलरका कार्यक्रमको नेतृत्व गरिसकेका छन् ।
स्वास्थ्य सेवामा उनले प्रिसिजन मेडिसिन, क्लिनिकल अनुसन्धान तथा क्लिनिकल एनालिटिक्ससँग सम्बन्धित प्रणाली विकासमा काम गरेका छन् । उनका कामले बिरामीको उपचार परिणाम सुधार, नियामकीय अनुपालन तथा स्वास्थ्य संस्थाको सञ्चालन दक्षता बढाउन सहयोग पु¥याएको दाबी गरिएको छ ।
डा. उपाध्यायसँग सूचना प्रविधि प्रणालीमा पीएचडीसहित व्यवस्थापन प्रशासन (एमबीए), विज्ञान (एमएस) र परियोजना व्यवस्थापन (एमपीएम) मा उच्च शिक्षा हासिल गरेको विवरण छ। उनले जर्जिया टेक, स्ट्यानफोर्ड विश्वविद्यालय, हार्वर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) लगायत संस्थाबाट १०० भन्दा बढी व्यावसायिक प्रमाणपत्र प्राप्त गरेका छन् ।
माक्र्विस हुज हूको सम्पादकीय टोलीले उनको व्यावसायिक उपलब्धि तथा प्रविधि नेतृत्वमा गरेको योगदानको प्रशंसा गरेको जनाएको छ । उनको जीवनी ‘माक्र्विस बायोग्राफिज अनलाइन’ (ःद्यइ) डाटाबेसमा समावेश गरिनेछ ।
माक्र्विस हुज हूले विभिन्न क्षेत्रका उल्लेखनीय व्यावसायिक तथा अन्य उपलब्धि हासिल गरेका व्यक्तिहरूको जीवनी अभिलेख राख्दै आएको छ । डा. उपाध्याय पनि उक्त डाटाबेसमा समावेश हुने जनाइएको छ ।
८ मंसिर २०४२ मा सुदूरपश्चिमको विकट जिल्ला बझाङको जयपृथ्वी नगरपालिका–७ सुटियामा जन्मिएका धर्म उपाध्याय सन् २०१३ मा डिभीमार्फत अमेरिका पुगेका थिए । उपाध्यायले अमेरिकामा गरिरहेको संघर्षबारे अनलाइनखबरले गत वर्षको पौरखी प्रवासी श्रृङ्खलामा प्रकाशित गरेको थियो ।

