
धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको उपचारमा लागेको करिब नौ लाख रुपैयाँ धनगढीस्थित माया मेट्रो अस्पतालले मिनाहा गरेको छ।
आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका भट्टलाई सुरुमा महाकाली अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो।
भट्टको अवस्था गम्भीर हुनुका साथै लामो समय उपचार गर्नुपर्ने भएपछि परिवार चिन्तित बनेको थियो। आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च जुटाउन समस्या भएपछि अस्पतालले उनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।
अस्पतालका अनुसार भट्टलाई १५ दिन भेन्टिलेटर र २० दिन सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो। त्यसपछि सामान्य शय्यामा राखेर उपचारलाई निरन्तरता दिइएको थियो। लामो उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।
भट्टको उपचारमा न्युरोसर्जन डा. हरि पौडेल, जिआई सर्जन डा. विनय तिमिल्सिना, अर्थोपेडिक सर्जन डा. विकास पाण्डे, डा. रितेश पोखरेल, एनेस्थेसियोलोजिस्ट डा. मोहन भट्ट र डा. ललित धामी संलग्न थिए।
माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले भट्टको पारिवारिक अवस्था कमजोर रहेकाले मानवीयताका आधारमा उपचार खर्च मिनाहा गर्ने निर्णय गरिएको बताए।
“अस्पतालमा आइसकेको बिरामीलाई हामीले पनि फिर्ता पठाउन मनले मानेन। त्यसैले निःशुल्क उपचार गर्ने निर्णय गर्यौँ,” अध्यक्ष साउँदले भने।
उनका अनुसार भट्टको उपचारमा लागेको करिब नौ लाख रुपैयाँ अस्पतालले मिनाहा गरेको हो।
आर्थिक अभावका कारण उपचार खर्च जुटाउन कठिनाइ भइरहेको अवस्थामा अस्पतालले गरेको सहयोगले भट्टको परिवारलाई राहत मिलेको छ।

