


धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण तथा अवलोकन गरेका छन् ।


मंगलबार कार्यालयको निरीक्षणका क्रममा भट्टराईले विभिन्न शाखाको कार्यसम्पादन, नागरिक सेवा प्रवाह तथा हिरासत कक्षको अवस्थाबारे जानकारी लिएका हुन् ।




सो अवसरमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले कार्यालयबाट भइरहेका काम, शान्ति सुरक्षा व्यवस्थापन तथा समग्र कार्यसम्पादनबारे प्रस्तुतीकरण गरेका थिए ।


निरीक्षणपछि प्रहरी कर्मचारीलाई निर्देशन दिँदै डीआईजी भट्टराईले नागरिकमैत्री, प्रभावकारी र गुणस्तरीय प्रहरी सेवा प्रवाहमा जोड दिएका छन् । उनले आसन्न बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
सम्भावित आपराधिक गतिविधिको पूर्वसूचना सङ्कलन तथा विश्लेषण गर्ने, घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रतिकार्य गर्ने र चोरी, तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न नियमित गस्ती तथा पेट्रोलिङलाई प्रभावकारी बनाउन उनले निर्देशन दिएका हुन् ।
त्यसैगरी सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र प्रहरी आचरण तथा अनुशासन कायम राख्दै जिम्मेवारी निर्वाह गर्न पनि भट्टराईले प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
निरीक्षणका क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महरालगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।




