


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् ।


शनिबार प्रेस वक्तव्य जारी गर्दै उनले पत्रकार पक्राउ गरेर समाचारको सत्य दबाउन नसकिने बताएका हुन् । बालेन नेतृत्वको सरकारले पत्रकारलाई पक्राउ गर्ने, सञ्चारमाध्यममा प्रहरी परिचालन गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गराएर त्रसित बनाउने गतिविधि गरिरहेको उनको आरोप छ ।






अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तापक्षीय सांसदको नाम जोडिएका समाचार सार्वजनिक भइरहेका बेला पत्रकारमाथि धरपकड हुनु गम्भीर विषय भएको उनले बताएका छन् । पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिने र साइबर ब्युरोमा बोलाउने घटनाले समाचार लेख्ने स्वतन्त्रता संकुचित हुँदै गएको उनको भनाइ छ ।

‘पत्रकारलाई पक्राउ गरेर न त समाचारको सत्य मार्न सकिन्छ, न त प्रेसलाई कुनै निरंकुशताका सामु घुँडा टेकाउन नै,’ आङ्देम्बेले वक्तव्यमा भनेका छन् ।
उनले प्रधानमन्त्रीको निर्देशन र सरकारका हरेक कार्य कानुनसम्मत हुनुपर्ने उल्लेख गर्दै राज्यका निकायलाई कानुनअनुसार काम गर्न र छानबिन निकायलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
दशकौँको संघर्षबाट प्राप्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतालाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनले चेतावनी दिएका छन् ।






