


काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारको नाममा रहेको चलअचल सम्पत्ति खोजबिन थालेको छ।



यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ। मन्त्रालयले पूर्वराजा वीरेन्द्रको परिवारको नाममा रहेको वा उनीहरूको हक, स्वामित्व तथा भोगाधिकार हुन सक्ने नेपालभित्रको सम्पत्तिको खोजबिन र अभिलेखीकरणमा सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो।





नेपाल ट्रष्टको कार्यालयले कात्तिक ९ गते सम्पत्ति खोजबिनमा सहयोगका लागि मन्त्रालयलाई पत्र पठाएपछि मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको हो।

शाखा अधिकृत प्रकाश पन्थीले स्थानीय तहलाई पत्र लेख्दै पूर्वराजा वीरेन्द्रको परिवारको नाममा रहेका जग्गाधनी प्रमाणपुर्जा, दर्ता श्रेस्ता, फिल्डबुकलगायतका विवरण तथा कागजात नेपाल ट्रष्टको कार्यालयमा पठाउन आग्रह गरेका छन्।






