सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि सुरु, १५ करोडको आर्थिक कारोबार हुने अनुमान

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार तथा स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको सुदूरपश्चिम महोत्सव–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा महोत्सव सञ्चालन हुने भएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यस वर्षको महोत्सवलाई कृषि, पर्यटन, उद्योग, व्यापार तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित गरिने बताए।

उनका अनुसार महोत्सवमा कृषि तथा व्यावसायिक प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको छ। आधुनिक कृषि प्रविधि, ताजा तरकारी तथा कृषि उपजको प्रदर्शनीसँगै स्थानीय उत्पादनको बजारीकरण, प्रविधि आदानप्रदान र व्यावसायिक अवसर विस्तारमा जोड दिइनेछ।

त्यसैगरी सुदूरपश्चिमको मौलिक कला, संस्कृति, लोकगीत, लोकनृत्य तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय उत्पादन, खानाका परिकार तथा विभिन्न क्षेत्रका व्यवसायलाई समेत प्राथमिकता दिइने अध्यक्ष ओझाले बताए।

आयोजकका अनुसार महोत्सवमा करिब ४ करोड रुपैयाँ लगानी हुने र करिब १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायतका क्षेत्रका करिब ४२५ वटा स्टल रहनेछन्।

महोत्सवलाई थप आकर्षक बनाउन करिब १५० वटा छातासहितको ‘अम्ब्रेला स्ट्रिट’ निर्माण गरिनेछ। महोत्सवमा करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन मूल आयोजक समितिसहित २५ वटा उपसमिति गठन गरिएको छ। सुरक्षा व्यवस्थाका लागि निजी तथा सरकारी सुरक्षाकर्मी परिचालन गरिने र सीसीटीभी क्यामेरामार्फत निरन्तर निगरानी गरिने आयोजकले जनाएको छ।

अध्यक्ष ओझाले महोत्सवलाई केवल व्यापारिक तथा मनोरञ्जनात्मक कार्यक्रमका रूपमा मात्र नभई सुदूरपश्चिमको आर्थिक समृद्धि, पर्यटन विकास, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनाको अभियानका रूपमा अघि बढाइएको बताए।

उनले महोत्सव सफल बनाउन राजनीतिक दल, तीनै तहका सरकार, सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी तथा नागरिक समाजलगायत सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...