

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । nबिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताएका हुन् ।
आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै ओलीले सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने स्पष्ट पारे ।
पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न नचिनेका व्यक्तिहरू सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उनले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिए । अध्यक्ष ओलीले भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र लगाउनसमेत आग्रह गरे ।
परिचयपत्रले सहभागीको पहिचान स्थापित गर्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उनको भनाइ छ । बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न निर्देशन दिँदै उनले भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गरे ।
भेलामा सम्बोधन गर्दै ओलीले भने, ‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन । सुरक्षाका दृष्टिले स्वयंसेवक साथीहरूले पनि विशेष ध्यान दिनुपर्छ । अपरिचित व्यक्तिको प्रवेश, भेटघाट र आवतजावतलाई व्यवस्थित गर्नुपर्छ ।’
उनले सबै प्रतिनिधि तथा नेताहरूले अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्ने र सांस्कृतिक वा अन्य कारणले लगाउन नमिल्नेहरूले साथमा राखेर आवश्यक पर्दा देखाउनुपर्ने बताए । बिहीवारको कार्यक्रम दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै ओलीले कार्यक्रमलाई अनुशासनको नमूना बनाउँदै निर्धारित कार्यसूचीअनुसार अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

