

बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले आईजीपी जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु उचित नभएको टिप्पणी गरे ।
‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु,’ ओलीले भने ।
आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै ओलीले प्रहरी प्रशासनले आफूहरूलाई मजाकको पात्र बनाउन खोजेको आरोप लगाए ।
उनले प्रमाण भए आफूहरूलाई पक्राउ गरेर थुन्न चुनौतीसमेत दिएका छन् । ‘थुने हुन्छ नि समातेर । प्रमाण भेटे अरे, प्रमाण भेटे उनी पनि थुनिन्छन् होला नि, अरू पनि थुनिन्छन् होला नि,’ ओलीले भने ।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङले फाइल खोल्दै गरेको र सबैलाई थुन्ने अभिव्यक्ति दिएको भन्दै ओलीले त्यसको लक्षित व्यक्ति को हो भन्ने प्रश्न गरेका छन् ।
‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छ, एकसे एक थुनिन्छ भनेका छन् । कसलाई भनेको हो ? सबै थुनिन्छन् भने उनी र को को बाँच्छन् त नेपालमा ?’ ओलीले प्रश्न गरे ।
उनले यस्ता अभिव्यक्तिले देशमा आतंकको वातावरण सिर्जना गर्ने भन्दै जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

