

कञ्चनपुर । भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराइने भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए। उनका अनुसार पछि शोधभर्ना हुने गरी तत्कालका लागि सम्बन्धित स्थानीय तहलाई नै राहत रकम वितरण गर्न निर्देशन दिइसकिएको छ।
“बेपत्ता भएका २६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको छ”, उनले भने, “पछि शोधभर्ना हुनेगरी सम्बन्धित पालिकालाई राहत रकम उपलब्ध गराउन भनिसकेका छौँ।” उनले समितिको निर्णयअनुसार २६ परिवारलाई जनही दुई लाखका दरले ५२ लाख राहत रकम प्राधिकरणसँग माग गरिएको बताए।
प्रजिअ कोइरालाका अनुसार बाढीमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ, बेदकोट र बेलौरी नगरपालिकाका तीनरतीन, शुक्लाफाँटा नगरपालिकाका छ, कृष्णपुर नगरपालिकाकाका पाँच र लालझाडी गाउँपालिकाका एक जना बेपत्ता छन्।

