महाकाली नदीमा पुल नहुँदा सास्ती, भारत भ्रमणबाट समाधानको आशा

cp new add
Nisharg hospital
Dhangadhi

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल निर्माणको विषय प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा छलफलको विषय बन्ने छ भन्नेमा बैतडीवासीले आशा व्यक्त गरेका छन् । प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ र ७ गते भारत भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ ।

उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले स्थानीयको समस्या र रायसुझाव अनुसार झुलाघाटमा पक्की पुल निर्माणको विषयमा भ्रमणका क्रममा छलफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतमा भएका सम्झौता कार्यान्वयनका लागि पनि यस्ता संवेदनशील विषयले प्राथमिकता पाउनेमा आशा जागेको बताउनुभयो ।

यसअघि भारत सरकारले झुलाघाट, डडेलधुराको शीर्ष र दार्चुलामा पुल निर्माण गर्ने सम्झौता गरिसकेको छ । सम्झौता अनुसार दार्चुलामा पक्की पुल निर्माण भएर उद्घाटनको तयारीमा छ । झुलाघाट पुलको कामले गति नलिँदा स्थानीय बासिन्दा, व्यापारी तथा उपचारका लागि भारत जाने बिरामीले दैनिक सास्ती भोग्नु परेको बैतडीवासीको गुनासो छ ।

पक्की पुल नबन्दा हाल स्थानीय बासिन्दा करिब डेढ सय वर्ष पुरानो जीर्ण झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ब्रिटिस इस्ट इन्डिया कम्पनीको शासनकालमा सन् १८७७ (विसं १९३४ तिर) निर्माण गरिएको करिब एक सय मिटर लामो उक्त झोलुङ्गे पुल अहिले निकै जीर्ण अवस्थामा पुगेको छ ।

पक्की पुल नहुँदा यस क्षेत्रको व्यापार, व्यवसाय र पर्यटन प्रवर्धनमा समेत प्रत्यक्ष असर परेको भन्दै विगतको सम्झौतालाई मूर्तरूप दिन स्थानीय सरोकारवालाहरूले प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका हुन् । झुलाघाटमा महाकाली भन्सार कार्यालयसमेत रहेको छ ।

तत्कालीन समयमा सुदूरपश्चिमका पहाडी जिल्ला र भारतको पिथौरागढ क्षेत्रबिच व्यापार, नुनतेलको ओसारपसार र तीर्थयात्राका लागि ब्रिटिस इन्जिनियरहरूले यो पुल बनाएका थिए । यसअघि भारत सरकारले मर्मतसम्भार गर्दै आएको उक्त पुलको मर्मत कार्य यो वर्ष भने नेपाल पक्षले गर्ने भएको छ । हालै सम्पन्न नेपाल–भारत सीमास्तरीय बैठकले जीर्ण बन्दै गएको झोलुङ्गे पुलको मर्मत कार्य नेपालले गर्ने निर्णय गरेको हो ।

पुलका लागि चौबिस वर्षदेखि सङ्घर्ष

झुलाघाटमा पक्की पुल निर्माण गर्न २०५९ सालमा १० हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरी नेपाल सरकार र भारतीय राजदूतावासलाई बुझाइएको थियो । २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो । माग सुनुवाइ नभएपछि विसं २०७६ भदौ २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय बैतडीअगाडि सुरु भएको रिले अनशन असोज २७ गतेसम्म लगातार ३७ दिन चलेको थियो ।

उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा गठित झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिको अगुवाइमा स्थानीय व्यापारी, नागरिक समाज र सर्वसाधारण अनशनमा बसेका थिए । बैतडीवासीले विसं २०५९ देखि हालसम्म करिब २४ वर्ष निरन्तर झुलाघाटमा पक्की पुलको माग गर्दै आए पनि कुनै सुनुवाइ नभएको स्थानीयवासी शेरसिंह भण्डारीले गुनासो गर्नुभयो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...