

काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई सरकारले खाना र खानेपानीबाट समेत वञ्चित गरेको छ ।
उनीहरूलाई यसअघि शान्ति सेवा गृह नामक गैरसरकारी संस्थाले खाना खुवाउँदै आएको थियो । तर, संस्थाले शुक्रबार (मंसिर ११)देखि खाना उपलब्ध गराउन बन्द गरेको हो । सरकारकै दबाबमा संस्थाले खाना उपलब्ध नगराएको सुकुम्वासीको आरोप छ ।
कृषि तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टर खाली गर्न सरकारले दिएको ‘अल्टिमेटम’सँगै खाना र पानी पनि रोकिएपछि बालबालिकासहित केही परिवार भोकै बस्न बाध्य भएका छन् ।
“खाना- खानेपानी बन्द भयो ,बालबालिकाहरू विद्यालय जानबाट समेत रोकिए,” त्यहाँ आश्रय लिइरहेका दलमर्दन कामीले भने, “सरकारका मान्छे कोही पनि आएका छैनन्, सरकराले वैकल्पिक व्यवस्था नगरेसम्म हामी कतै जाँदैनौँ, यहीँ बस्छौँ ।”
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार (मंसिर ९) लिखित सूचना टाँस्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । तर, वैकल्पिक व्यवस्थापनको टुंगो नलाग्दै खाना र पानी बन्द गरिँदा त्यहाँ आश्रित परिवार थप संकटमा परेका छन् ।

