

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातै प्रदेशबाट ‘शिक्षा संवाद’मार्फत प्राप्त सुझाव शिक्षा ऐनको मस्यौदामा समेट्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षा मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा सातै प्रदेशमा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, कर्मचारी तथा प्रदेश र स्थानीय तहका प्रतिनिधिसँग छलफल गरी सुझाव संकलन गरिएको थियो ।
शुक्रबार संकलित सुझावसहितको प्रतिवेदन मन्त्री पोखरेललाई हस्तान्तरण गरिएको हो । प्रतिवेदन बुझ्दै उनले सरोकारवालाको आवाज समेटेर व्यवहारिक शिक्षा ऐन निर्माण गर्ने बताए ।
उनले सिंहदरबारमा बसेर मात्र नभई विद्यालय र शिक्षाको वास्तविक अवस्था बुझेर कानुन बनाउनुपर्नेमा जोड दिए ।
प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम गौतमले सातै प्रदेशका सरोकारवालासँगको छलफलबाट प्राप्त सुझाव शिक्षा ऐनको मस्यौदामा समावेश हुने विश्वास व्यक्त गरे ।
शिक्षा ऐनको मस्यौदा तयार पार्न शिक्षामन्त्री पोखरेलका सल्लाहकार शैलेन्द्र झाको अध्यक्षतामा समिति गठन गरिएको छ ।

