२४ साउन, धनगढी । भारतको पञ्जाबबाट करोड बढि मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोश लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् ।
कैलाली प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीले छाड्न आदेश दिएपछि छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर प्रहरीले विस्तृत विवरण खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बुधबार (भोलि) मात्र प्रेस विज्ञप्ती मार्फत सो सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्ने बताए । स्रोतकाअनुसार भारतको पञ्जाबबाट चोरी गरेर ल्याएको सुन तथा नगदसहित प्रहरीलाई बुझाएपछि उनीहरु छुटेका हुन् ।
सुन व्यवसायी लामिछानेलाई प्रहरीले गत १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनी चोरीको सुन खरिदमा संलग्न भएको प्रहरीले दाबी गरेको थियो । उनीसँगै पक्राउ परेका अन्यको परिचय भने अझै खुलाइएको छैन ।