


दाङ । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।


दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका – ६ भगवानपुरका ३१ वर्षीय प्रविन चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते चौधरीलाई भालुवाङ पुर्याउँदा चिकित्सकले चेकजाँच पछि मृत घोषणा गरेका थिए।





मोटरसाइकलमा सवार राप्ती –३ मसुरियाकी १६ वर्षीया निशु चौधरी र सोही ठाउँकै अन्दाजी १९ बर्षीया करिना चौधरी घाइते छन्। उनीहरुको अवस्था पनि गम्भीर छ। घाइते दुवै जनालाई भालुवाङबाट थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा लगिएको छ। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार उनीहरु साथीको जन्मदिन मनाएर घर तर्फ फर्किदै गर्दा ट्रकले उनीहरु सवार मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको थियो।


पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–३ बाघ ढड्डीमा सोमबार बिाहन साढे १ बजेतिर पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रकले र विपरीत दिशा तर्फ जाँदै गरेको प्र ३–०२०१० प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रक चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– ११ का ३४ श वर्षीय राजेन्द्र चौधरी इप्रका भालुवाङको नियन्त्रणमा छन्। दैलेखमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु दैलेखमा पनि ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
घाइते मोटरसाइकल चालक जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका – ३ का ५५ बर्षीय कृष्णकुमार आचार्यको उपचारका क्रममा मृत्यु भएको हो। उनी मोटरसाइकलको पछाडि सवार थिए। मोटरसाइकल चालक सोही ठाउँका २६ बर्षीय श्रवणकुमार आर्चाय भने सकुशल रहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा घाइते आचार्यको आइतबार बेलुकी पख मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माले बताए । आइतबार दिउँसो २ बजेतिर जिल्लाको गुँरास गाउँपालिका – ४ चिसापानीस्थित सुर्खेत दैलेख सडक खण्डमा सुर्खेतबाट दैलेख तर्फ जाँदै क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल सोही दिशा तर्फ जाँदै गरेको लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि ठोक्किदा उक्त दुर्घटना भएको थियो ।
ट्रक चालक दाङको लमही नगरपालिका – ३ का २५ बर्षीय सबिन चौधरी प्रहरी नियन्त्रणमा छन्।






