९ असोज, धनगढी । एयरलाइन्स कम्पनीहरुले दशैँ नजिकिएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा बृद्धि गरिदिएका छन् । आन्तरिक उडानमा काठमाडौँबाट सबैभन्दा लामो दूरीमा रहेको धनगढीको हवाई भाडा बृद्धि गरेर १७ हजारसम्म पुगाइएको छ ।
जबकी काठमाडौँ–दिल्लीको भाडा त्यो भन्दा सस्तो छ । अनलाइन टिकट बुकिङमा अगामी १४ गते शुक्रबार काठमाडौँ–धनगढीको भाडा दर १२ हजार ७२५ देखि १७ हजार २५ रुपैयाँ सम्म कायम गरिएको छ ।
काठमाडौँदेखि धनगढी आइपुग्ने विमानले अधिकतम एक घण्टा २० मिनेटसम्म लागाउने गरेका छन् । तर शुक्रबार नै एक घण्टा ४५ मिनेटको दूरीमा रहेको काठमाडौँ–दिल्लीको भाडा दर भने १४ हजार कायम छ ।
काठमाडौँबाट धनगढी आउने भन्दा दिल्ली जाने भाडादर सस्तो भएपछि एयरलाइन्स कम्पनीहरुले बदमासी गरेको भन्दै आलोचना भइरहेको छ ।