
कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ विशालनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ९४ मिलिग्रामसहित स्थानीय ३५ वर्षीय योगेश पाल र ४३ वर्षीय सुवाश हमाललाई मंगलबार दिउँसो पक्राउ गरिएको हो। अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध बरामद गरेको जनाएको छ।
त्यसैगरी, टीकापुर नगरपालिका–१ खडकचोकबाट गोदावरी नगरपालिका–७ निवासी २३ वर्षीय मिन रावललाई ६७० मिलिग्राम खैरो हेरोइनसहित मंगलबार साँझ पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यस्तै, धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट धनगढी–१२ जुगेडाका १९ वर्षीय बिर्खबहादुर नेपालीलाई नियन्त्रित लागूऔषध स्पास २४० ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

