
१६ असोज, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ३ महिनाको सेवासुविधाबापत पाएको रकम सामाजिक कार्यमा लगाएका छन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत पाएको २ लाख ६७ हजार ८ सय समाज सेवामा समर्पित गरेका छन् ।

उनले दसैँको अवसरमा सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २६९ जनालाई पोशाक किनिदिने भएका छन।
मेयर हमालले आइतबार दृष्टि फाउन्डेसनमा आश्रित ५५ जना, मानव सेवा आश्रममा आश्रित ५६ जना, आमाको माया छात्राबास तारानगरमा आश्रित ३० जना र नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित ५ जनालाई पोसाक वितरण गरेको हुन ।

यस्तै दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई दसैंपछि पोशाक वितरण गर्ने उनले बताए । विद्यालयहरूमा विजया दशमी बिदाका कारणले दसैंपछि पोशाक वितरण गरिने भएको हो ।
उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवासुविधा नलिने घोषणा गरेअनुरुप नै बाचा पुरा गरेको जनाए । मेयर गोपाल हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरि २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिएका छन् ।
यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए । उनले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधाबाफतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए ।
यसै गरि जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए ।
उनले चुनावअघि धनगढी उपमहानगरपालिकाबाट कुनै सेवासुविधा नलिने प्रतिवद्धता गरेका थिए । सोही प्रतिवद्धताअनुसार आगामी ५ वर्षसम्म हरेक महिना उपमहानगरबाट पाउने सुविधा आफूले नलिइ समाजसेवामा लगाउने मेयर हमालले बताएका छन् ।
मेयर हमालले आफूले पाएको गाडी सुविधा पनि वडा स्वास्थ्य क्लिनिकका लागि भनेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छन् ।
