६९ सय बढ्यो सुन, तोलाको २ लाख नजिक

cp new add
Nisharg hospital
suchana

काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।

मंगलबार कारोबार प्रारम्भमा थप मूल्य बढेर ३ हजार ४ सय ८० डलर हाराहारी पुगेको हो । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकलाई दिएको एक धम्कीका कारण सुनको मूल्यमा भारी वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ । ट्रम्पले शुक्रबार मात्रै केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए ।

‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा भनेका छन्, ‘अहिले ब्याजदर घटाउन नसके अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’ साथै, उनले ब्याजदर तत्काल घटाइ हाल्न फेड अध्यक्ष जेरोम पावेललाई निर्देशनात्मक शैलीमा भनेका छन् ।

शुक्रबार, शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले त्यसको प्रभाव एकै पटक सोमबार मात्रै देखिएको हो । उनले ब्याजदर कटौती नगरेकोमा फेड अध्यक्ष पावेलको आलोचना गरेका छन् ।

ट्रम्पले हस्तक्षेप गर्दा केन्द्रीय बैंकका नीति अस्थिर हुने र यसले अर्थव्यवस्थामा खराब असर पर्ने अनुमानपछि लगानीकर्ता सुनमा आकर्षित भएका हुन् । यसले सुनको मूल्यमा भारी वृद्धि भएको छ भने अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...