सुदूरपश्चिममा एक वर्षमा १२० किलोमिटर सडक कालोपत्र

cp new add
Nisharg hospital
suchana

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १२० किलोमिटर सडक कालोपत्र गरेको छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले कालोपत्र, ग्राभेल र कच्ची गरेर तीन सय १८ किलोमिटर सडक निर्माण गरेको छ।प्रदेशमा १२० किलोमिटर कालोपत्र सडक, ५७ किलोमिटर ग्राभेल र १४२ किलोमिटर कच्ची सडक निर्माण गरिएको आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेशको आर्थिक, सामाजिक विकासलाई तीव्रता दिने गरी भरपर्दो र सुरक्षित दिगो सडक सञ्जालको विस्तार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन्।

लक्ष्य अनुसार पूर्वाधार निर्माणलाई तीव्रता दिने मन्त्री थापाले बताए। प्रदेश गौरव र बहुवर्षीय आयोजनाको निर्माण सम्पन्न गर्न सडक तथा सडक पुल पूर्वाधारको गत विगतको दायित्व र प्रदेश सरकारको स्रोत सीमिततालाई ध्यान दिई उच्च प्राथमिकतामा राखेको अर्थ मन्त्री थापाले बताए।

राजमार्ग तथा सहायक राजमार्गदेखि स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल विस्तारमा प्रदेश सरकारले प्राथमिकता दिएको बताएको छ। स्थानीय तहको केन्द्रलाई नजिकको राजमार्ग तथा सहायक राजमार्गसँग जोड्ने प्रदेश सरकारको योजना छ। आगामी पाँच वर्षभित्र कालोपत्रे गर्ने व्यवस्था मिलाएको मन्त्री थापाले बताए।

नेपाल सरकार र स्थानीय तहसमेतको लागत साझेदारीमा प्रादेशिक सडक सुधार आयोजना सञ्चालन गर्न सुदूरपश्चिम सरकारले एक अर्ब २१ करोड ६५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।सडक सञ्जालसँग कच्ची सडक नजोडिएका बझाङको साईपाल, बैतडीको सिगास र दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकता दिइएको हो।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...