
२५ असार, धनगढी । बाजुराको बुढिगंगा नगरपालिकामा नेकपा एमालेका रामबहादुर बानियाँले मतान्तर बढाउदै लगेका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिएका बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउदै लगेका हुन् ।

तीन हजार छ सय ४८ मतको गणना सकिदा बानियाँले ९५७ मतका साथ अग्रता कायम राखेका छन् । बानियाँले दुई हजार १९६ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २३९ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले दुई हजार १७२ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्धन्द्धी कांग्रेसकी रिता शाहीले एक हजार २६२ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

अहिलेसम्म वडा नम्बर १, ९ र १० को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने गणना जारी रहेको वडा नम्बर २ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।
