
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महिलालाई ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने गरी कानून संशोधनको तयारी भइरहेको बताएकी छन् ।
मन्त्री गौतमले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको तयारी भइरहेको जानकारी दिएकी हुन् । प्रस्तावित संशोधनअनुसार आमालाई ६ महिनासम्मको तलबी सुत्केरी बिदा र बाबुलाई ४२ दिनसम्मको सुत्केरी स्याहार बिदा दिने व्यवस्था गरिने मन्त्री गौतमले बताएकी छन् ।
उनका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको मस्यौदा तयार भइसकेको छ । अब मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गरी त्यसपछि संसदमा दर्ता गर्ने तयारी भइरहेको उनले जानकारी दिएकी छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा हाल सुत्केरी महिलाले सुत्केरीअघि र पछिको समय गरी ९८ दिनसम्म बिदा पाउने व्यवस्था छ । यस्तै, सुत्केरी स्याहारका लागि बाबुले १५ दिनसम्म बिदा पाउने व्यवस्था ऐनमा रहेको छ ।

