सत्यराज सिंह
३ कात्तिक, बझाङ । बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । गम्भीर घाइते ५० वर्षिया सिन्किदेवी भण्डारीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतक संख्या ८ पुगेको हो ।
घाइते संख्या १७ जना रहेका छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सुपप्र ०१ ००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिप दुर्घटना हुँदा घाइते भएका १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ४ जनालाई धनगढी रेफर गरिएको छ ।
घाइतेमध्ये मष्टा गाउँपालिका–१ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको बताइएको छ । ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रेफर गरिएको छ। दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा मष्टा गाँउपालिका–२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।
त्यस्तै घाइतेहरुमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनि धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय बिरबहादुर खड्का, मष्टा गाँउपालिका १ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीया ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीया सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए ।
जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ । जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो। ‘सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडि सरेर भिरमा खसेको हो,’ प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले भने ।
दुर्घटनामा प्रायः मष्टा २ का मानिसहरुले ज्यान गुमाएका छन् । दुर्घटनाले मष्टा गाउँपालिका शोकमा डुबेको छ । यसअघि २०७६ साल असार २ गते पनि सोही सडकखण्ड अन्तर्गत डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए ।