
धनगढी । ‘श्रीमतीलाई कुनै दोष छैन । उनीमाथि प्रश्न उठाउने ठाउँ नै छैन । उनले मेरो निकै हेरचाह गर्थिन्,’ बाँकेमा पक्राउ परेपछि धनगढीका डम्मरराज जोशीले प्रहरीसँग यस्तो भनेका थिए ।
जोशी तिनै व्यक्ति हुन्, जसले २३ फागुनको राति धनगढी उपमहानगरपालिका–७ देवहरियास्थित आफ्नै घरमा श्रीमती सरस्वती अवस्थी जोशीको निर्मम हत्या गरे ।
प्रहरीका अनुसार जोशीले घरमै धारिलो वस्तु टाउकोमा प्रहार गरेर श्रीमतीको हत्या गरेका थिए । घटनापछि उनका पाँच महिनाका शिशु (छोरा) र ९ वर्षीया छोरी टुहुरा बनेका छन् ।
परिवारले उनीहरूलाई सम्हालिरहेको भए पनि आमाको मृत्युले बालबालिकाको अवस्था निकै दयनीय बनेको छ । धनगढीको एक्सिस विद्यालयमा अध्यापन गर्दै आएका जोशी केही समयदेखि मानसिक स्वास्थ्य समस्याका कारण घरमै बसिरहेका थिए । प्रहरीका अनुसार उनी डिप्रेसनको समस्याबाट ग्रसित थिए ।
तर, उनी श्रीमती र छोराछोरीलाई धेरै माया गर्थे । कुनै कुलत नभएका उनी पछिल्लो समय घर बाहिर निस्केर हिँड्ने बानी परेको थिए । घटना भएको दिन पनि उनले छोरीलाई आफू काठमाडौं जाने कुरा बताएका थिए ।
शनिबार राति पनि सोही कुरालाई लिएर श्रीमान–श्रीमतीबीच विवाद भयो । त्यसबेला जोशीकी आमा पनि घरमै थिइन् । डिप्रेसनका कारण उनी बेला–बेला रिसाउने, झर्किने र आफ्नाविरुद्ध षड्यन्त्र भइरहेको शंका गर्ने स्वभाव देखाउने गरेको पारिवारीक स्रोत बताउँछ ।
छोरा–बुहारीबीच विवाद भएपछि सासूले सरस्वतीलाई आफूसँगै अर्को घरमा सुत्न जान भनेकी थिइन् । तर, यस्तो अवस्थामा श्रीमानलाई एक्लै छाड्न नमानेर उनी घरमै बसिन् ।
त्यसपछि जोशीले आफूलाई घरबाट बाहिर जान दिन आग्रह गर्दै जिद्दी गर्न थाले । तर सरस्वतीले बाहिर नजान र आराम गरेर सुत्न अनुरोध गरिरहेकी थिइन् ।
यही विषयमा घरको पूजा कोठामा विवाद बढ्दै गयो । त्यसबेला(प्रेसपत्र) सम्म शिशु छोरा र ९ वर्षीया छोरी सुतिसकेका थिए । विवाद उग्र भएपछि जोशीले श्रीमतीलाई कुटपिट गर्दै बाहिर निस्कन खोजे । सरस्वतीले रोक्ने प्रयास गर्दा जोशी झन् आक्रोशित भए ।
आक्रोशमा उनले नजिकै रहेको धारिलो हतियारले सरस्वतीको टाउकोमा पटक–पटक प्रहार गरेका थिए । प्रहरीसमक्ष दिएको बयानमा उनले पाँच पटकसम्म टाउकोमा प्रहार गरेको बताएका छन् । जोशीले फलामको हतौडाले प्रहार गरि श्रीमतीको हत्या गरेको बयान दिएपनि प्रहरीले भने अहिलेसम्म कुनै वस्तु बरामद गरेको छैन ।
हत्या गरेपछि उनी मोटरसाइकल चढेर राति नै घरबाट फरार भए । उनी रगत लागेको कपडामै करिब ४ लाख ६२ हजार रुपैयाँ लिएर भागेका थिए । राति करिब १२ बजेतिर (प्रेसपत्र) पाँच महिनाको शिशु रोएपछि सुतिरहेकी ९ वर्षीया छोरी ब्यूँझिइन् । तर, आमालाई ओछ्यानमा नदेखेपछि उनी खोज्दै हलतिर गइन् । त्यहाँ आमाको शव देखेपछि उनी आत्तिइन् ।
छोरीले भाइलाई बोकेर घर बाहिर निस्किएर छिमेकीलाई खबर गरिन् । त्यसपछि(प्रेसपत्र) छिमेकीले प्रहरीलाई जानकारी दिए र राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो । छोरीले सुरुमा बाबु काठमाडौं गएको र अरू कसैले आमाको हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेकी थिइन् । तर अनुसन्धानका क्रममा बाबुले नै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जोशी राति करिब १० बजेतिर हत्या गरेर फरार भएको देखिन्छ । मोटरसाइकलमा चिसापानीसम्म पुगेपछि मोटरसाइकल त्यहीँ छाडेर ट्रक चढेर बाँकेतर्फ गएका थिए । बाँकेको राप्ती सोनारी गाउँपालिका–शम्शेरगञ्ज पुगेपछि उनी स्थानीयले नियन्त्रणमा लिएका थिए । गाउँमा अपरिचित व्यक्ति घुमिरहेको भन्दै नियन्त्रणमा (प्रेसपत्र) लिएपछि स्थानीय मोहनसिंह साउदले उनको फोटो फेसबुकमा पोस्ट गरेका थिए । त्यो पोस्ट कैलाली प्रहरीसम्म पुगेपछि उनी डम्मरराज जोशी भएको खुलेको थियो ।
हाल जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेका जोशीले श्रीमती असल स्वभावकी महिला भएको बताउने गरेका छन् । तर हत्या गरेकोमा उनमा कुनै पश्चाताप नदेखिएको प्रहरी स्रोत बताउँछ ।
प्रहरीकाअनुसार डिप्रेसनका कारण उनको मनमा श्रीमतीले आफ्नो जग्गा बेचेर माइती पक्षलाई दिन लागेकी छन् भन्ने शंका बसेको थियो । साथै आफू परिवारबाट असुरक्षित रहेको आशंका पनि उनले गर्ने गरेका थिए । जोशीको नकारात्मक सोचका कारण घटना भएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जोशीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

