


काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।


शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकारलाई अन्य दलबाट खतरा नरहे पनि रास्वपाभित्रैबाट प्रधानमन्त्रीलाई असफल बनाउने प्रयास भइरहेको दाबी गरे ।





सरकार गठन भएको ६ महिना नपुग्दै प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको उनको आरोप छ । रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डीपी अर्यालले प्रधानमन्त्रीलाई असफल बनाउने गरी मोर्चाबन्दी गरेको साहले दाबी गरे ।


उनले लामिछानेको यसअघिको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले पुनः धार्मिक यात्राका लागि भारत जान लागेको विषयलाई शंकाको दृष्टिले हेर्नुपर्ने बताए । अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको उल्लेख गर्दै रास्वपाको कोर टिमको पटक–पटकको भारत भ्रमणलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ ।
साहले रास्वपाको कोर टिमले आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै प्रधानमन्त्री शाहलाई उपयोग गर्न खोजेको आरोप लगाउँदै यसप्रति सचेत रहन आग्रह गरे । रास्वपाको ध्यान चुनाव जित्ने र पद प्राप्त गर्नेमा मात्रै केन्द्रित रहेको तथा देश र जनताको विषयमा चिन्ता नरहेको उनको आरोप छ ।
‘घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने र कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो,’ साहले भने ।
रास्वपाका रवि लामिछाने समर्थक कार्यकर्ता सामाजिक सञ्जालमा उग्र देखिएको र गालीगलौज गर्ने गरेको आरोप पनि उनले लगाए ।






