कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

cp new add
Nisharg hospital
suchana
Nast new

थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैधरूपमा बसिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरेको छ। दूतावासका अनुसार उनीहरूलाई ३० चैत र १ वैशाखमा कम्बोडियाबाट नेपाल फर्काइएको हो।

प्रलोभनमा परेर विभिन्न माध्यममार्फत कम्बोडिया पुगेका ती नेपालीहरू अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको अवस्थामा फेला परेका थिए। साथै, उनीहरू मध्ये धेरैजना बिनाभिसा वा भिसा अवधि नाघिसकेपछि त्यहाँ बसिरहेका थिए।

दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि पनि आवश्यक पहल भइरहेको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा नेपालीहरूलाई अनलाइन ठगीलगायत विभिन्न गैरकानुनी काममा लगाइने र अवैध बसोबासको समस्या बढ्दो रूपमा देखिएको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा नेपालीहरूको त्यहाँ जाने क्रम उल्लेखनीय रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएका थिए भने २०२२ मा यो संख्या १,९७७ पुगेको थियो। त्यस्तै, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा ९,६७६ जना नेपाली कम्बोडिया पुगेको तथ्याङ्कले देखाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...