

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले न्याय सम्पादनलाई छिटोछरितो बनाउनुपर्ने बताएका छन् ।
मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले न्याय सम्पादनमा ढिलाइ हुँदा कतिपय अवस्थामा समस्या हुने गरेको बताएका थिए । उनले मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीको कामप्रति पनि प्रशंसा गरेका थिए ।
सीमित स्रोत–साधनकाबीच पनि कार्यसम्पादनमा लागिरहेको भन्दै प्रदेश प्रमुख मियाँले मुख्य न्यायाधिवक्तासहित सम्पूर्ण टोलीलाई अझै उच्च मनोबलसहित काम गर्न सुझाव दिएका थिए ।
प्रदेश प्रमुखज्यूलाई आर्थिक वर्ष २०८१्/०८२ को प्रतिवेदन मुख्य न्यायाधिवक्ता जोशीले हस्तान्तरण गरेका थिए । प्रतिवेदन हस्तान्तरण गर्दै उनले गत आर्थिक वर्षमा आफूहरूले गरेका कामहरूको जानकारी प्रदेश प्रमुखलाई गराएका थिए ।
उनले सर्वोच्च, उच्च तथा जिल्ला अदालतहरूमा गरेको बहस पैरवी, जिल्लाका विद्यार्थीहरूलाई दिइएको कानुनी साक्षरता र सचेतना, कारागार अनुगमन, अन्य प्रदेशबाट सिकिएका असल अभ्यास तथा स्थानीय तहका न्यायिक समितिहरूबारे गरिएको प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रमबारे जानकारी गराएका थिए ।
मुख्य न्यायाधिवक्ता जोशीले प्रतिवेदनमार्फत ८ बुँदे सुझावहरू पनि दिएका थिए । समस्यासँगै दिइएका सुझावहरू सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।
प्रदेश प्रमुख मियाँले उक्त प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सभामा पठाइने र त्यसमा विस्तृत छलफल हुने बताएका थिए ।

