
धनगढी । बैतडीमा प्रधानाध्यापकलाई कालोमोसो दलेर जुताको माला लगाई सार्वजनिक अपमान गरेको घटनामा पक्राउ परेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका तहका नेता र उनका परिवारका सदस्य रहेको खुलेको छ ।
शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो लगाइएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले शुक्रबार चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रास्वपाका शिवनाथ गाउँपालिका कमिटी उपसभापति प्रेमसिंह महतासहित उनका परिवारका सदस्य रहेका छन् । पक्राउ परेकामध्ये तारा महता उनकी श्रीमती, मोहन महता भाइ र शकुन्तला महता भाइबुहारी रहेको खुलेको छ ।
महताले २५ वैशाख २०८० मा रास्वपाको सदस्यता लिएको पाइएको छ । बीए १ ख ०००००९१०९ सदस्यता नम्बर रहेका महता पार्टीको पालिका कमिटी उपसभापति हुन् ।
प्रहरीका अनुसार प्राथमिक तहको शिक्षक परीक्षामा श्रीमती तारा महता उत्तीर्ण नभएपछि आक्रोशित बनेको महता परिवार विद्यालयमै पुगेर प्रधानाध्यापक ओझामाथि दुर्व्यवहारमा उत्रिएको हो । महताले यसअघि आफ्नी श्रीमतीलाई जसरी पनि उत्तीर्ण गराई शिक्षकमा भर्ना गर्न प्रधानाध्यापकमाथि दबाब दिएको आरोप छ ।
विद्यालयले प्रावि तहको महिला शिक्षक पदका लागि गत चैत २६ गते विज्ञापन गरेको थियो । उक्त पदका लागि १८ जनाले आवेदन दिएका थिए भने वैशाख १३ गते भएको परीक्षामा १४ जना मात्रै सहभागी भएका थिए ।
नतिजा प्रकाशनपछि तारा महता अनुत्तीर्ण भएकी थिइन् । बिहीबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला प्रेम महता श्रीमती, भाइ र बुहारीसहित विद्यालय पुगेका थिए ।
उनीहरूले “एकछिन काम छ” भन्दै प्रधानाध्यापक ओझालाई बाहिर बोलाएका थिए । त्यसपछि कालोमोसो दलेर जुताको माला लगाउनुका साथै “म अपराधी हुँ” लेखिएको पम्प्लेटसमेत घाँटीमा झुन्ड्याइएको थियो ।
घटना देखेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउँदलगायतले हस्तक्षेप गरी प्रधानाध्यापकलाई छुटाएका थिए ।
शुक्रबार पक्राउ परेका महता परिवारविरुद्ध किटानी जाहेरी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक बलदेव बडुले पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । उनका अनुसार प्रधानाध्यापक ओझाबाट किटानी जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अघि बढाइनेछ ।
सम्बन्धित समाचार
बैतडीमा प्रअमाथि कालोमसो दलेर बेइज्जत गरेको आरोपमा महिलासहित ४ जना पक्राउ
बैतडीमा प्रअमाथि कालोमोसो र जुताको मालाको रहस्य खुल्यो, परीक्षामा फेल भएकी महिलाको आरोपपछि घटना
बैतडीमा प्रअमाथि कालोमोसो लगाउनेलाई तत्काल पक्राउ गर्न डीआईजीको निर्देशन, खोजीमा जुट्यो प्रहरी


