


धनगढी । धनगढीकाे दिनेश सञ्चार गृहमा पुगेर पत्रकारलाई धम्की दिने व्यक्तिलाई कारवाही गर्न माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम प्रदेश समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर सञ्चार गृहमा पुगेर दिनेश एफएम र दिनेश खबरकी कार्यकारी निर्देशक आरजु हमाललाई दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिने धनगढीकै बिनाेद ओझलाई कारवाही गर्न माग गरेकाे हाे ।
महासंघले समाचारकाे विषयमा कुनै असहमति भए कानुनी उपचार गर्ने बाटाे भएपनि गृहमै पुगेर पत्रकारलाई धम्क्याउने विषय गम्भीर भएको उल्लेख गरेकाे छ ।
शुक्रबार साँझ ओझाले भाटभटेनी सुपरमार्केट नजिकै भएको खुकुरी हानाहानकाे घटना सम्बन्धि दिनेशखबरमा सार्वजनिक भिडियोकाे विषयलाई लिएर गृहमै पुगेर पत्रकारलाई दुर्व्यवहार गरेका थिए ।



