


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएर सदनको अवरोध खुलाउनेबारे छलफल जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ । सदनमा प्रतिनिधित्व गर्ने सबै दलका नेता र प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।
छलफलमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन लगायतका नेताहरू सहभागी छन् ।
जहाँ प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिएर सदन खुलाउने विषयले प्रवेश पाएको हो । प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आइरहेका छन् ।
यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।
यही विषयलाई लिएर विपक्षी दलहरूले विरोध गरेका कारण प्रतिनिधिसभाको बैठक चल्न सकिरहेको छैन ।
विपक्षी दलहरुले प्रधानमन्त्रीको लिखित वक्तव्य आए जुनसुकै मन्त्रीले पढे पनि हुने बताएका छन् तर रास्वपा सभापति रविले परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने र लिखित नहुने बताएका छन् । ‘बालेनलाई पनि बोलाउने कोसिस हुन्छ ।
अहिले सरकारी धारणा मन्त्रीबाट आउँछ । प्रधानमन्त्रीको तर्फबाट लिखित नै चाहिन्छ नभन्नुस्’, बैठकमा सभापति लामिछानेले प्रस्ताव गरे ।

