
१९ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिकाले लक्ष्मी नारायण मन्दिरका संरचनामाथि पनि डोजर चलाएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तार गर्ने योजनाअनुसार सडकको क्षेत्राधिकार भित्र पर्ने लक्ष्मी नारायण मन्दिरका संरचना उपमहानगरपालिकाले डोजर प्रयोग गरेर भत्काउन थालेको हो ।

शनिबार बिहानैदेखि उपमहानगरपालिकाले दुई वटा डोजर प्रयोग गरेर ती संरचना भत्काइरहेको छ । उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई केन्द्रले दायाँबायाँ १५–१५ मिटर फराकिलो बनाउन सडक क्षेत्रमा बनेका संरचना भत्काइरहेको छ ।
सेती प्रादेशिक अस्पतालका संरचनामा डोजर चलाएर हाउने अभियान थालेको उपमहानगरले क्रमशः निजी संरचना पनि भत्काइने जनाएको छ ।
गत १३ भदौमा उपमहानगरपालिकाले असोज मसान्तसम्म सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सूचना जारी गरेको थियो तर व्यवसायीहरुले दशैँ, तिहार र छठ पर्वसम्म पर्खिदिन आग्रह गरेपछि उपमहानगरपालिकाले थप छठसम्मको समय दिएको थियो ।
सम्बन्धीत घरधनीलाई आफै संरचना भत्काउन समय दिएको उपमहानगरले अटेरी गरेमा डोजर चलाउने जनाएको छ ।

