
निर्मला पन्त हत्या प्रकरणमा पटक–पटक नाम जोडिँदै आएकी आँचल बमले सामाजिक सञ्जालमार्फत लामो टिप्पणी सार्वजनिक गर्दै आफू निर्दोष रहेको दाबी पुनः दोहोर्याएकी छन्। यो नै आफ्नो अन्तिम प्रतिक्रिया भएको बताउँदै उनले अब उक्त घटनासँग सम्बन्धित कुनै पनि विषयमा सार्वजनिक रूपमा नबोल्ने स्पष्ट पारेकी छन्।

आँचल बमका अनुसार, निर्मलाको घटना २०७५ साउन १० गते भएको थियो भने विवादित अम्बाको रुख साउन १६ वा १७ गते मात्र काटिएको थियो। उनले रुख काट्नुको उद्देश्य प्रमाण नष्ट गर्नु नभई घरमा हुने अनावश्यक भीडभाड, चोरी तथा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्नु रहेको दाबी गरेकी छन्। प्रहरीको दबाबमा रुख काटिएको भन्ने आरोपलाई उनले पूर्ण रूपमा असत्य भनेकी छन्।
घरको भित्ता रंग्याएर प्रमाण मेटाइएको भन्ने आरोपसमेत उनले अस्वीकार गरेकी छन्। घटनाको समयमा तथा त्यसपछिका एक–दुई वर्षसम्म घरमा कुनै पनि रंगरोगन नगरिएको उनको भनाइ छ। त्यसबेला पत्रकार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घरमा आएर प्रत्यक्ष रूपमा कुनै रंगरोगन नगरिएको देखेको दाबी पनि उनले गरेकी छन्।
आँचल बमले आफूहरूलाई कुनै एसपीका छोरा, मेयरका भतिजा वा अन्य प्रभावशाली व्यक्तिहरूले संरक्षण गरेको भन्ने आरोपलाई पनि निराधार बताएकी छन्। उनका अनुसार, प्रहरीबाट आफ्ना सबै कल डिटेल जाँच भइसकेका छन् र त्यसबाट आफूहरू निर्दोष रहेको पुष्टि भएको छ। साथै, आफ्नी दिदीले डान्स बारमा काम गरेको, निर्मलालाई कपडा किनिदिएको वा होटलमा जन्मदिन मनाएको भन्ने दाबीहरू पनि असत्य रहेको उनले उल्लेख गरेकी छन्।
घटनाको समयमा आफू १४ वर्षकी नाबालिग रहेको उल्लेख गर्दै उनले मानव अधिकारकर्मी तथा केही सञ्चारमाध्यमबाट चरित्रहत्या गरिएको आरोप लगाएकी छन्। हिरासतमा रहँदा समेत कसैबाट साथ नपाएको र अपमानजनक व्यवहार भोग्नुपरेको उनको भनाइ छ।
आँचल बमले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वा कुनै सरकारको संरक्षणका कारण आफू छुटेको भन्ने दाबी पनि अस्वीकार गरेकी छन्। आफूहरू निर्दोष भएकैले कानुनी प्रक्रियाबाट सफाइ पाएको उनको भनाइ छ। हालको राजनीतिक सन्दर्भ उल्लेख गर्दै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नामसमेत आफ्नो टिप्पणीमा उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमा झूटो सूचना र अफवाह फैलाउने व्यक्तिमाथि कडा अनुसन्धान र कानुनी कारबाही गर्न उनले नेपाल सरकारसँग माग गरेकी छन्। साथै, ‘प्रमाण छ भने अदालतमा साबित गर, मुखले बोलेर केही हुँदैन’ भन्दै उनले चुनौतीसमेत दिएकी छन्।
निर्मला पन्त हत्या प्रकरण नेपालका सबैभन्दा संवेदनशील र चर्चित घटनामध्ये एक मानिन्छ। यस प्रकरणमा निर्मलाका लागि न्यायको माग निरन्तर उठिरहे पनि आरोप–प्रत्यारोप, विवाद र विभिन्न दाबी–प्रत्यदाबी भने अझै जारी छन्।

