धनगढीमा उपत्यकापछि नेपालमै पहिलो एकीकृत भान्साघर सञ्चालन

cp new add
Nisharg hospital

धनगढी । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ। स्वस्थ शरीर र तेज दिमागका लागि पोषणयुक्त आहार अत्यन्त आवश्यक हुने भएकाले विद्यार्थीलाई गुणस्तरीय दिवा खाजा उपलब्ध गराउने उद्देश्यले उक्त भान्साघर सञ्चालनमा ल्याइएको हो।

Nast Ad

धनगढी उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष मोती राना थारूले शनिवार आयोजित समारोहमा भान्साघरको उद्घाटन गरेका हुन्।

साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्मका २१ सामुदायिक विद्यालयका करिब ४ हजार विद्यार्थीले यही भान्साघरमा तयार गरिएको पोषणयुक्त दिवा खाजा प्राप्त गर्नेछन्। बालविकासदेखि कक्षा ५ सम्मका ३ हजार ७९५ विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सरस्वती आधारभूत विद्यालय, शान्तिनगरमा कक्षा ८ सम्मका सबै विद्यार्थीलाई समेत खाजा उपलब्ध गराइनेछ।

धनगढी–७ मा नवज्योति आधारभूत विद्यालय मिलानपश्चात् २/२ कोठाको २ वटा भवन तथा २ कठ्ठा जमिनमा थप पूर्वाधार निर्माण, मर्मत, भान्सा सामग्री, ढुवानी साधन तथा विद्युत जडानका लागि उपमहानगरपालिकाले करिब १ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ। साथै विश्व खाद्य कार्यक्रमबाट ८६ लाख रुपैयाँ सहयोग प्राप्त भई कुल २ करोड २३ लाख रुपैयाँको लागतमा एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको हो।

काठमाण्डौ उपत्यकापछि नेपालमै पहिलो एकीकृत भान्साघर धनगढीमा निर्माण भई सञ्चालनमा आउनु स्थानीय तहको महत्वपूर्ण उपलब्धि मानिएको छ। यस पहलले विद्यार्थीहरूको पोषण, स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनक भट्ट, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, स्थानीय व्यक्तिहरू तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। साथै, एकीकृत भान्साघरबाट सबै विद्यालयमा दिवा खाजा उपलब्ध गराउने जिम्मा लिएको “फुड फर लाइफ” संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...