

२१ कात्तिक, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा(२) मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन नसकिने जवाफ फर्काएका छन् ।
धनगढीस्थित पार्टी सभापति समेत रहेका देउवासँग भएको भेटमा जोशीले कार्यकर्ताको भावनाअनुसार आफ्नो उम्मेदवारी भएको बताउदै फिर्ता लिन नसकिने बताएका हुन् ।
सोमबार दिउँसो प्रधानमन्त्री देउवाले जोशीलाई धनगढीस्थित निवासमा बोलाएर उम्मेदवारी फिर्ता लिएको घोषणा गर्र्दै गठबन्धनलाई सघाउन आग्रह गरेका थिए तर जोशी निकै ढिलो भइसकेकाले उम्मेदवारी फिर्ता गर्न नसकिने जवाफ फर्काएका छन् ।
‘प्रधानमन्त्री ज्यूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेर गठबन्धन र पार्टीलाई सहयोग गर भन्नुभएको थियो,’ जोशीले प्रेसपत्रसँग भने, ‘मैले सबै नेता, कार्यकर्तासँगको सरसल्लाहमा उहाँहरुकै भावनाअनुसार उम्मेदवारी दिएको हुँ । अब फिर्ता सक्दैन भनेको छु ।’ भेटमा देउवाले जोशीलाई पार्टी छाड्ने निर्णयबाट पछाडी हट्दै पार्टीमा पुगाएको योगदानलाई बचाउन पनि आग्रह गरेका थिए ।
जोशीको क्षेत्र प्रदेशसभा (२) मा कांग्रेसले नेकपा एकीकृत समाजवादीका अमर साउदलाई गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाएका छ तर जोशी र अर्को नेता लक्ष्मण शाहीले बागी उम्मेदवारी दिएका थिए ।

