
काठमाडौं । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल छुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले अदालतमाथि प्रश्न उठाएका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेललाई शुक्रबार विशेष अदालतले प्रमाण नपुगेको भन्दै साधारण तारेखमा छाड्न आदेश दिएको थियो।अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि न्यौपानेले अदालतमाथि प्रश्न उठाएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा
सार्वजनिक गर्दै उनले न्यायलय पुनरसंरचनाविना सुशासन र भ्रष्टाचार अन्त्य सम्भव नभएको बताएका छन्।

सामान्यतया अदालत स्वतन्त्र हुने विश्वास गरिन्छ। तर अदालतको निर्णयमाथि प्रश्न उठाउँदै अधिवक्तासमेत रहेका न्यौपानले न्यायलयको सन्दर्भमा निर्ममपूर्वक समीक्षा गर्नेबेला भएको बताएका छन्।
‘न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, साथै आम सर्वसाधारण नागरिकले समेत न्यायको प्रत्याभूत गर्न सक्ने अवस्था रहँदैन। न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ’, उनले लेखेका छन्।

