
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले ‘वान आवर सर्भिस’ ९एक घण्टा सेवा० सुरु गरेको छ।

शुक्रबारदेखि लागू गरिएको यस व्यवस्थाअनुसार आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले जानकारी दिए।
उनका अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। यसबाट सेवाग्राहीले प्रशासनिक सेवा लिन लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप पनि घट्दै गएको छ। जिल्लाको दक्षिणी क्षेत्र मेलौली र पूर्वी क्षेत्रको पुर्चौडी नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि अधिकांश स्थानीयले नजिकैबाट सेवा लिन थालेका कारण जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको संख्या कम भएको हो।

