धनगढीको सेती प्रादेशिक अस्पतालमा लापरवाही, स्तरीय उपचार नपाउँदा सर्पले टोकेका ९ वर्षीय बालकले गुमाए ज्यान


धनगढी । कैलालीमा सर्पको टोकाइबाट एक ९ वर्षीय बालकको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–१ का ९ वर्षीय युवराज नेपालीको सर्पदंशबाट मृत्यु भएको छ। सोमबार राति शौचालय जाने क्रममा सर्पले टोकेपछि उनलाई बडैपुर स्वास्थ्य केन्द्र हुँदै थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो।

परिवारले अस्पतालमा समयमै आवश्यक उपचार नपाएको र चिकित्सकीय लापरबाही भएको आरोप लगाएको छ। उपचारको क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालको सेवा व्यवस्थामाथि आलोचना भइरहेको छ। मृतकका बुवा कृष्ण नेपालीले भिडियो खिच्ने क्रममा परिवारका सदस्यहरूमाथि हातपातसमेत भएको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टले उपचारकै क्रममा बालकको मृत्यु भएको पुष्टि गरेका छन्। यता, सेती प्रादेशिक अस्पतालले भने बालक अस्पताल पुग्दासम्म अवस्था अत्यन्त गम्भीर रहेको र आवश्यक उपचारकै क्रममा उनको निधन भएको जनाएको छ। साथै, अनुमति बिना अस्पतालभित्र भिडियो खिच्न नपाइने व्यवस्था भएकाले रोकिएको अस्पतालको भनाइ छ।
युवराज परिवारका एकमात्र छोरा थिए। घटनापछि परिवार र स्थानीयवासीले उपचार प्रक्रियाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
