
धनगढी । भारतको उत्तर प्रदेशस्थित खीरी जिल्लाको गौरीफन्टा क्षेत्रमा भारत–नेपाल सीमा नजिक लागूऔषध तस्करी नियन्त्रण अभियानका क्रममा दुई नेपाली नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन्।

भारतीय प्रहरीका अनुसार बुधवार गौरीफन्टा प्रहरी र ३९औँ वाहिनी एसएसबीको संयुक्त टोलीले गौरीफन्टा–चन्दनचौकी सडकअन्तर्गत डिगनिया बनकटी जंगल क्षेत्रमा स्कुटी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ निवासी २२ वर्षीय करणबहादुर गुरुङ र कैलालीकै १६ वर्षीय एक किशोर रहेका छन्।
उनीहरूले प्रयोग गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ८९७५ नम्बरको स्कुटीबाट कुल ८.५८ ग्राम ब्राउन सुगर बरामद भएको भारतीय प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करणबहादुरको साथबाट २.६६ ग्राम, किशोरको साथबाट २.४३ ग्राम तथा स्कुटीको डिग्गीभित्र रहेको टुलकिटबाट थप ३.४९ ग्राम ब्राउन सुगर बरामद गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

